१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


संविधानसभा निर्वाचनमा अछाममा हासिल गरेको वर्चश्व यसरी गुमायो एमालेले


0
Shares

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा अछामका दुई वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भए पनि स्थानीय तहमा भने उसले आफ्नो वर्चश्व कायम राख्न सकेन ।

अछामका ३ वटा गाउँपालिका र २ नगरपालिकामा नेपाली कांग्रेस विजयी बनेपछि एमालेभित्र बढी चर्चा हुन थालेको छ । नेकपा एमालेको गढ मानिने वान्निगढी जयगढ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । यहाँ नेपाली काँग्रेस विजयी भएको छ भने मेल्लेख गाउँपालिकामा पनि कांग्रेस र माओवादी गठबन्धनबाट माओवादी केन्द्र विजयी भएको छ । लामो समयदेखि नेकपा एमालेको वर्चश्व रहेको ढकारी गाँउपालिकामा पनि यस पटक कांग्रेसले बाजी मारेको छ ।

त्यस्तै कमलवजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ । कमलवजार नगरपालिकामा नेपाली कांग्रेसका ओमप्रकाश विष्ट र उपाध्यक्षमा कांग्रेसकै भूमिसरा बजगाइँ विजयी भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रसका देवराज देवकोटा प्रमुख र उपप्रमुखमा अम्बिका चलाउने विजयी भए । तुर्माखाँद गाउँपालिकामा कांग्रेसका पुष्पराज शर्मा र अमृता बुढा निर्वाचित भए ।

उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा एमालेले ३ वटा स्थानीय तह मात्र जित्न सक्यो । एमालेले मंगलसेन नगरपालिका, साँफेवगर नगरपालिका र चौरपाटी गाउँपालिकामा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका संगठन विभाग प्रमुख समेत रहेका पदमबहादुर बोहरा प्रमुख र एमालेकै सरिता उपाध्याय उपप्रमुखमा निर्वाचित भएका छन् ।

साँफेवगर नगरपालिकाको प्रमुखमा एमालेका प्रदेश नं ७ का सदस्य कुलबहादुर कुँवर र उपप्रमुखमा एमालेकै विर्मला बुढ्थापा विजयी भए ।

चौरपार्टी गाँउपालिकाको मतपरिणम भने रोचक खालको छ । यो गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका हर्कबहादुर साउद १ मतले विजयी बने भने उपाध्यक्षमा नेपाली कांग्रेसकी माया कुँवर विजयी भइन् ।

अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र मानिएको रामारोशन गाउँपालिकामा भने माओवादी केन्द्रका झंकर साउद अध्यक्षमा र माओवादी केन्द्रकै सरस्वती रावल उपाध्यक्षमा विजयी भए ।

योसँगै अछामबासीको दुई दशकपछि जनप्रतिनिधि चयन गर्ने चाहना पूरा भएको छ । साथै अछामका नागरिकले प्रमुख तीन वटै पार्टीलाई विजयी गराएका छन् । अब उनीहरुबाट आमनागरिकले अछामको विकासको अपेक्षा गरेका छन् ।