सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएपनि शुक्रबार नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो ।
यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाकाक्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।
सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र यही असार १३ गते पुर्याइसकिएको छ ।
निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयकाविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।
मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।
माओवादी कार्यकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो । रासस










प्रतिक्रिया दिनुहोस्