Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


‘सुनौलो–सुन्तला कोष’ भएको केरा फलाउन वैज्ञानिक सफल, लाखौं मानिसको जीवन बच्ने


26
Shares

अष्ट्रेलियाको क्वीन्सल्यान्ड प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरुले ‘महत्वपूर्ण मानवीय परियोजना’अन्तर्गत् उक्त ‘प्राण जोगाउने’ फल ‘सुनौलो–सुन्तला केरा’को विकास गर्न सफल भएका हुन् ।

वैज्ञानिकहरुले उक्त फल युगान्डामा पाइने केरामा हुने पोषणतत्वलाई सुधारगरी जैविक प्रविधिमार्फत् ‘गोल्डेन–ओरेन्ज फ्लेस’ केराको विकास गर्न सफल भएको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।

विश्वविद्यालयका खोजकर्ता प्रमुख प्रा.जेम्स डलेले उक्त केरा युगान्डाको प्रमुख खाद्यान्न भएको बताए ।

प्रा.डलेकाअनुसार ‘महत्वपूर्ण मानवीय परियोजना’अन्तर्गत् यस कार्यक्रम सन् २००५देखि सुरु गरिएको थियो ।

उनले भने–‘हाम्रो लक्ष्य सन् २०२० सम्ममा युगान्डाका सबै कृषकले प्रो.भिटामिन–ए रहेको सुनौलो–सुन्तला केरा उत्पादन गर्ने रहेको छ ।’

अहिले युगान्डालगायत पश्चिम–अफ्रिकन देशहरुमा केरालाई उसिनेर तथा अरु तरिकाले खाने चलन छ । तर, स्थानीय केराहरुमा प्रशस्तमात्रामा पोषण भिटामिन–ए र आइरन पाइँदैन । त्यसैले युगान्डाका हजारौं बालबालिकाकामा कुपोषणको समस्या देखिएको छ ।

अब यस केराले अफ्रिकन देशलगायत विश्वका अरु देशका लाखौं मानिसहरुको जीवनरक्षा गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रा.डलेकाअनुसार भिटामिन–एको कमीले ती देशहरुमा वार्षिक ६ देखि ७ लाख बालबालिकाको आँखामा समस्या आएको र त्यसमध्ये अधिकांशमा अन्धोपनको समस्या रहेकाले अब यस समस्या समाधानको दीर्घकालीन उपायको लागि वैज्ञानिकहरुले उक्त केराको विकास गरिएको हो ।

प्रा.डलेले उक्त केराबाट प्राप्त हुने पोषणले शशरुरको प्रतिरक्षा प्रणाली बलियो हुने र बालबालिकाको मस्तिष्क विकासमा सकरात्मक प्रभाव पार्ने बताए ।

अष्ट्रेलियाको क्वीन्सल्यान्डको इननिसफेल बगैंचामा फलाइएको उक्त केरा अमेरिकामा पहिलोपटक मानव परीक्षण गरिएको जनाइएको छ ।

६ हप्ता लगाएर गरिएको उक्त परीक्षणको अन्तिम नतिजा यस वर्षको अन्त्यमा सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

यस कार्यक्रमलाई विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सेभ द लाइफ कार्यक्रमअन्तर्गत् १० मिलियन डलर सहयोग गर्ने भएको छ ।