Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


साँफेबगर विमानस्थल पुनःनिमार्णको संकेत, स्थानीयमा हवाईजहाज ‘देख्ने’ आशा पलाउँदै


0
Shares

साँफेबगर विमानस्थल पुनःनिर्माण हुने संकेत देखिएपछि यहाँका नागरिकहरुलाई हवाईजहाज देख्ने आशा जागेको हो ।

झन्डै १६ वर्षअघि २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गर्दा विमानस्थल पूर्णरुपमा ध्वस्त भएको थियो ।

अछाम आक्रमणमा विमानस्थल र सरकारी कार्यालय ध्वस्त भए । सुरक्षा निकायका कर्मचारी र अरु दर्जनौं मानिसहरुको ज्यान गएको थियो । सयौं मानिस विस्थापित भए । जनधनको ठूलो क्षति भयो । धेरै व्यापारी–व्यवसायी अन्यत्रै पलायन भए ।

सो घटनापछि यस क्षेत्रका स्थानीयले हवाईजहाज चढ्ने त कता हो कता साँफेबगरमा हवाईजहाज अवतरण भएको देख्नसमेत पाएका छैनन् ।

सो आक्रमणमा एअरपोर्ट, धावनमार्ग र बजार तहस–नहस भएको थियो । त्यसयता यहाँको आकाशमासमेत विमान उडेको देखिँदैन । जसका कारण विगतमा हवाई उडान भएको कुरा दन्त्य कथाझैं लाग्छ ।

यो क्षेत्रमा रहेका नेपालका चारधाममध्येको एक वैद्यनाथ धाम, खप्तड पर्यटन क्षेत्र, बडीमालिका, रामारोशन, बान्निगढी, पञ्चदेवलजस्ता पर्यटकीय हिसाबले भरीपूर्ण स्थानहरुमा पुग्न यहीँबाट जानुपर्ने भएकाले यस क्षेत्रको विकासका लागि विमानस्थल सुचारु हुन अत्यावश्यक रहेको स्थानीय अगुवाहरूको बुझाइ छ ।

प्रदेश नम्बर–७ का पहाडी जिल्लाहरुमध्ये साँफेबगर एक प्रमुख व्यापारिक केन्द्र मानिन्छ । सरकारले यस क्षेत्रलाई साना सहरको अवधारणा लागू गरेर कार्यान्वयनसमेत सुरु गरिसकेको छ ।

साँफेबगर विमानस्थल पहाडी जिल्लाका एअरपोर्टमध्ये सहज भूगोलमा रहेको मानिन्छ । दुबैतर्फबाट सहजरूपमा जहाज अवतरण गर्नसक्ने एअरपोर्ट २०६४ सालदेखि पूर्णरूपमा बन्द रहेको छ ।

साँफेबगर विमानस्थल सरकारले यसै आर्थिक वर्षभरिमा सुचारु गर्ने भनेपछि अछाम र आसपासका जनतामा झिनो आशा जागेको हो ।

हाल पाटन र साँफेबगर विमानस्थलमा धावनमार्ग पक्की गर्ने कार्य सुस्तगतिमा भइरहेको छ ।

कच्चीसडक बाढी–पहिरोले भत्कँदा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाले यात्राका लागि हैरानी खेप्नुपरेको छ ।

बूढीगंगा जलविद्युत् आयोजना सरोकार मञ्चका अध्यक्ष तथा अगुवा कमल साउद भन्छन्–‘हवाई सेवा नहुँदा यहाँका जनताले इमरजेन्सी सेवा लिन नपाएर अकालमा ज्यान गुमाउनुपरेको छ । राजधानी पुग्न तीन÷चार दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।’

विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने योजना गत आर्थिक वर्षमा पनि थियो । चालु आर्थिक वर्षमा यसैलाई निरन्तरता दिँदै विमानस्थलको टर्मिनल भवनका लागि पनि केही बजेट विनियोजन गरिएको छ ।

कालोपत्रेका लागि अमर कन्सट्रक्सनसँग झन्डै ९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

यस्तै, अछामको कमलबजारमा रहेको विमानस्थल गौचरणमा परिणत भएको छ । हवाईजहाज चढ्नेमात्र होइन, हेर्न आउने सर्वसाधारणकोसमेत घुइँचो लाग्ने कमलबजार विमानस्थलमा अचेल दिनभर गाईभैंसी र बाख्राहरुको चरन क्षेत्र भएको छ ।

मैदान सन्चालनमा ल्याउन स्थानीय बासिन्दाले विभिन्न निकायमार्फत् आग्रह गरेपनि उनीहरुको माग पूरा भएको छैन ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थलमात्र सन्चालनमा छन् भने अरु ८ विमानस्थल बन्द अवस्थामा छन् ।

अछामको साँफेबगर र कमलबजार, बझाङको चैनपुर, डोटीको दिपायल, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, कन्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल पुनः मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

तीमध्ये साँफेबगर, कमलबजार, गोकुलेश्वर र पाटन विमास्थलका रनवे नै भत्किसकेका छन् ।