
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणनाकार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ ।
देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो ।
पछिल्लो मतगणनाअनुसार नेकपा एमाले १४८, नेपाली कांग्रेस १२१, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै, तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा पदमा नेकपा एमालेले सबैभन्दा धेरै अर्थात् ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)काअनुसार प्रदेश नम्बर–१ का १३४, प्रदेश नम्बर–५ का १०९ र प्रदेश नम्बर–७ को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
उपप्रमुख एवं उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली कांग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी भएकोे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ ।
दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्