Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गहनाको महत्व (भिडियो रिपोर्ट)


0
Shares

लिच्छवीकालीन इतिहास रहेको आभूषण व्यवसायले उचित नीति–नियम नहुँदा फड्को मार्न भने सकिरहेको छैन ।

नेपालको आभूषण कलाको इतिहास निकै पुरानो छ । लिच्छवीकाललाई गहना सभ्यताको स्वर्णयुग नै मानिन्छ । लिच्छवीकालीन आभूषणहरु अझैपनि मठ–मन्दिर र मूर्तिमा जीवन्त रहेको देख्न सकिन्छ ।

नेपालमा धर्म र समुदायअनुसार गहना संस्कृतिको विविधता रहेको पाइन्छ । खासगरी हिन्दु संस्कारमा जन्म, विवाहदेखि मृत्युसम्म आभूषण एक अपरिहार्य आवश्यकता बनेको छ ।

सुनलाई पवित्रताको प्रतीककोरुपमा पनि लिइन्छ । सुनपानीको धार्मिकरुपमा विशेष महत्व छ भने आयुर्वेदमा स्वर्णभष्मलाई उच्चकोटीको औषधिकोरुपमा लिइन्छ ।

देवी–देवताले लगाउने गरगहनाकाबारेमा पनि शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । लक्ष्मी धनकी देवी, कुँवेर धनका राजा, भगवान विश्वकर्मा कला र सीपका देवता, यिनीहरु सबैले आभूषणलाई प्रतिनिधित्व गरेको शास्त्रमा उल्लेख छ ।

नेपालका धार्मिक सम्पदामा कालीगढहरुले कुँदेका मूर्ति र भगवानलाई पहि¥याइएको गहनाले धार्मिक महत्वमात्र जागृत नगराएर बेजोड कलालाई प्रस्तुत् गरेको छ ।

नेपालमा पछिल्लो समय मौलिक गहनाको महत्व बढ्दै गएको छ । विवाहलगायत सांस्कृतिक पर्वमामा तिहलरी, जन्तर, चन्द्रमा, मंगलसुत्र, श्रीफूललगायतका गहनाको माग बढ्दै गइरहेको छ ।

यसैगरी, नेवारी परम्परागत गहनाहरु चन्द्रहार, लुस्वा, न्यापु सिख, कटामरी, मौं, तायो, जातःखोल, अन्ति ख्वाल्चा, ग्वय बाटा, खाय् ख्वालालगायतका सुनचाँदीबाट निर्मित गहनाको पनि प्रयोग बढ्दै गइरहेको छ ।

मुलुकमा अहिले ३० हजारभन्दा बढी गहना व्यवसायीहरु रहेको बताइन्छ । यस क्षेत्रमा दुई लाखभन्दा बढी कालीगढ रहेको अनुमान छ ।

मुलुकको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागार गर्ने गहना व्यवसायको क्षेत्रमा स्पस्ट कारोबार निर्देशिका नहुँदा गहना कलाले फड्को मार्न सकिरहेको छैन । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।