Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गुरुपूर्णिमा पर्व र व्यास जयन्ती मनाइँदै, यस्तो छ गुरुपूर्णिमाको महत्व


0
Shares

पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ब्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।