
मानबहादुर वली/ईमेज
सुर्खेत । सुर्खेतमा रहेका विभिन्न किसिमका शारीरिक कमजोरी भएकाहरुको आत्मबल, संघर्ष र त्यसबाट प्राप्त सफलता सबैका लागि प्रेरणादायी देखिन्छ ।
उनीहरु आफ्नो मिहिनेत र संघर्षले आत्मनिर्भर मात्र बनेका छैनन् रमाइलोसँग जीवन बाँचिरहेका छन् ।
सुर्खेत वीरेन्द्रनगरस्थित बसपार्क छेउँमै बस्दै आएका माया प्रसाद जैसी र उनकी श्रीमती रेणुका दुवैजना दृष्टिविहीन हुन् । यो जोडी समाजमा सम्मानका साथ आत्मनिर्भर भएर बाँचेको छ त्यो पनि आफ्नै व्यवसाय सञ्चालन गरी ।
भाडा धुने सरफको उद्योग सञ्चालन गरिरहेका यी दम्पत्तिले उद्योगबाट राम्रै आम्दानी गरिरहेका छन् । आँखाले धोका दिए पनि आफ्नो मिहिनेत र संघर्षले सफलता दिएको उनीहरु बताउँछन् ।
शारीरिक रुपमा केही अशक्त देखिए पनि इलम गरेर आत्मनिर्भर र खुसी जीवन बिताएका मायाप्रसादको जोडीजस्तै अरु पनि प्रशस्तै छन् ।
वीरेन्द्रनगर १० पतेनीका नन्दप्रसाद चौलागाइँको कथा पनि कम प्रेरणादायी छैन ।
वीरन्द्रनगरमै मीठाइको बक्स बनाउने उद्योग चलाउँदै आएका उनको दैनिक जीवन ह्वीलचियरको सहारामा चल्छ । उनले मासिक १२/१३ हजार रुपैयाँ आम्दानी गर्ने उनले आत्मनिर्भर भएर जीवन चलाइरहेका छन् ।
जन्मँदै दुवै हातका औंला नभएका रामबहादुर चौधरीको सीपले जोकोहीलाई चकित बनाउँछ उनका दुवै हातका निकै साना औलाको साहाराले मर्मतको काम गरिरहेका छन् ।
वीरेन्द्रनगर बजारको हटियालाइनमा स्टोभ मर्मत पसल सञ्चालन गरेका उनले स्टोभ, प्रेसर कुकर र ग्याँस मर्मत गरेरै आफ्नो परिवार पालेर खुशीसँग जीवन बिताइरहेका छन ।
बीरेन्द्रनर–१०, नयाँगाउँका माधुराम चौधरी पनि जन्मदै शारीरिक कमजोरी भए पनि ८ वर्षदेखि मुढा बनाउने व्यवसायबाट राम्रो आम्दानी गदै आएका उनी हातमा सीप भए कसैको सहारा नचाहिँने बताउँछन् ।
यी त केही प्रतिनिधी अनुहार मात्र हुन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ शारीरिक रुपमा केही दुर्बल भएपनि आत्मविश्वास र संघर्षले सफलता दिलाउँछ भन्ने यथार्थता प्रस्तुत गरेका छन् ।
अपाङ्ग सशक्तीकरण केन्द्रका अनुसार सुर्खेत जिल्लामा करिव १० हजार भन्दा बढी अपाङ्गता भएका मध्ये एक हजार पाँचसय जना आत्मनिर्भर छन् ।
प्रतिक्रिया दिनुहोस्