पौडेलको शवलाई काठमाडौंमा डिएनए परीक्षण र पोष्टमार्टम गरि सदरमुकाम ल्याइएपछि आफन्तहरुले पौडेलको हत्या नै भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै जुलुस निकालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट शुरु भएको जुलुसले कुस्माबजार परिक्रमा गरेको थियो । जुलुसमा सहभागीले ‘हत्यारालाई कारवाही गर’, ‘शिक्षक पौडेलले पढाउने आइबल बोर्डिङ्ग खारेज गर’ लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय अगाडि सडक अवरोध गर्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा परी प्रहरी जवान दिवान शाही, म्यादी प्रहरी कुश्मा नगरपालिका–७ निवासी अंकित नेपाली, कुश्मा नगरपालिका–१२ निवासी डम्बर बहादुर कुँवर र कुश्मा नगरपालिका–५ बस्ने लालबहादुर पुनसमेत प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
आफन्तहरुले पौडेलको हत्या नै भएको भन्दै घटनाको राम्रोसँंग अनुसन्धान गर्न र दोषीलाई कारवाहीका लागि दबाबस्वरुप आन्दोलन गरिएको बताएका छन् ।
पोष्टमार्टम रिपोर्टमा ‘घाँटीमा लागेको चोटका कारण मृत्यु भएको’ भन्ने देखिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शेखर खनालले घटनाको अनुसन्धान भइरहेको बताए ।
पोष्टमार्टम रिपोर्ट आएपछि घटना शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनाको अनुसन्धान गरि यथार्थ बाहिर ल्याउँछौं, दोषी भेटिएमा कारवाही हुन्छ ।’
विद्यालयका प्रिन्सिपल विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बिहीबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद थपेको छ ।
कुश्मा नगरपालिका–९, कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा उनले शव भेटिएको थियो ।
कुश्मा–१, पाङ घर भएका २० बर्षीय पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए । विद्यालयमा विद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई माफी माग्न आग्रह गरिएको र उक्त दिनपछि नारायण विद्यालय जानसमेत छाडेका थिए ।
पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र धुनका लागि भिजाइएको अवस्थामा केही कपडा भेटिएको प्रहरीले जनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्