Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सप्तरीका बाढीपीडितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने निर्णय


0
Shares

सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिए ।

सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई रु २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरुको बसोबासको व्यवस्था गर्न रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गरेका थिए ।

दुई हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएको बाढीले त्यहाँको बाँध भत्काउनुका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेका थिए ।

सो बाढीबाट कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो । बाढीबाट त्यहाँका करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेका थिए ।

यसैगरी मन्त्रिपरिषद्ले बैठकले सप्तरीका बाढपीडितको बसोबासको व्यवस्था गर्न रु १५ लाख सहुलियत ऋण दिने पनि निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका–संसदमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको अर्थमन्त्री कार्कीले जानकारी दिए ।

भट्टराईले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारको भूमिकासमेत निर्वाह गरिसकेका छन् । (रासस)