
-विवेक भण्डारी/ईमेज
नवलपुर । शैक्षिक गुणस्तर उकास्ने भन्दै नवलपुरका अधिकांश सामुदायिक विद्यालयलाई गाभ्न थालिएको छ ।
स्रोत साधन तथा विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयलाई गाभेर विद्यालयको गुणस्तर सुधार्न थालिएको हो ।
अझै पनि निजीका तुलनामा सार्वजनिक विद्यालय विद्यार्थी र अभिभावकको आकर्षणमा पर्न सकेका छैनन् । कतिपय सार्वजनिक विद्यालय सुधारिएको भए पनि धेरैजसोको हालत पुरानै छ ।
यही रोगको उपचार गर्न पर्याप्त स्रोत साधन नभएका विद्यालयलाई गाभेर स्तरीय विद्यालय बनाउने प्रयत्न गरिएको छ ।
जसमध्ये देवचुली नगरपालिकास्थित लक्ष्मी प्रावि वरचुली माविमा गाभिएको छ त्यसैगरी धुव्रज्योती प्राविलाई देवचुली माविमा, देवचुली आधारभुत विद्यालयलाई भीमसेन आर्दश माध्यमिक विद्यालयमा गाभिएका छन् ।
त्यस्तै जनज्योती मा.वि प्रगती आधारभुत विद्यालय पनि यहीँ प्रकृयामा आउने तयारीमा छ । नवलपुरकै वौदिकाली गाउँपालिकामा रहेका ८ विद्यालयलाई पनि एकीकरण गरेर सञ्चालन गरिएको छ ।
भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले विद्यालय व्यवस्थापन र शिक्षण सिकाइ प्रकृयालाई प्रभावकारी बनाउनको लागि अव्यवस्थित विद्यालयलाई एकीकरण गरी व्यवस्थित गर्न लागेको बताए ।
अव्यवस्थित विद्यालयलाई एकीकरण गरेर व्यवस्थित बनाउन थालेसँगै शैक्षिक स्तर सुधार हुने आशामा अभिभावकहरु पनि उत्साहित देखिन्छन् ।
गुणस्तरीय शिक्षा, विद्यालयको शौक्षिक स्तर वृद्धि र सेवासुविधा प्रदान गर्न विद्यालयलाई एकीकरणको अभियानमा लागेको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले बताए ।
नवलपुरमा ३ सय २२ सरकारी विद्यालयहरु रहेका छन त्यस्तै निजी विद्यालयको संख्या ९२ छ ।
जिल्लाका सरकारी विद्यालयमा शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, विद्यार्थी सख्या लगायतका विषयमा अभाव नै देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्