Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


१६ दिनदेखि डोल्पामै थन्किए कक्षा–११ का उत्तरपुस्तिका


0
Shares

यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिइएको परीक्षाका उत्तरपुस्तिका जिल्लामै थन्किएका छन् ।

क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनैपनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

परीक्षा सम्पन्न हुनेबित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि डोल्पामा यातायातको एकमात्र विकल्प हवाई यातायात पनि बन्द भएको र सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाटसमेत लैजान समस्या भएकाले लैजान नसकिएको जिल्ला शिक्षा अधिकारी रामराजा खकुरेलले जानकारी दिए ।

अहिले उत्तरपुस्तिका लैजानका लागि क्षेत्रीय परीक्षा बोर्डको कार्यालयबाट कर्मचारी आइसकेको र अब पैदलमार्गबाट लैजानुको विकल्प नभएको बताउँदै उनले जुम्ला हुँदै लैजाने कि रुकुम–जाजरकोट हुँदै लैजाने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

गत असार १ गतेदेखि सुरु भएको कक्षा–११ को परीक्षा असार १० गते सम्पन्न भएको थियो । रासस