कुमार चौलागाइँ (रासस)
काठमाडौं, माघ १६ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् युएईसँग पहिलो खेल खेल्नेछ ।
तीनओटा एकदिवसीय र तीनओटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
एक दिवसीय सिरिजअन्तर्गत् नेपालले पहिलो खेलमा तीन विकेटको पराजय व्यहोरे पनि दोस्रो खेलमा शानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो ।
तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो ।
नेपालले टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।
टी–२० अन्तर्राष्ट्रिय सिरिजका सबै खेल नेपाली समयानुसार २ः४५ बजे हुनेछ ।
सम्पूर्ण खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।
राम्रो ‘फर्म’मा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ ।
जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीका–टिप्पणी हुने गरेपनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।
सन् २०१४ को टी–२० विश्वकपमा टी–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टी–२० विश्वकप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो ।
पुनः गत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ ।
टी–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ ।
सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डले संयुक्तरुपमा आयोजना गरेको टी–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २० रनले पराजित भएको थियो ।
त्यस्तै, सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपअन्तर्गत् अभ्यास खेलमा युएई ६ विकेटले विजयी भएको थियो ।
सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गत्को खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्