धनगढी, माघ १६ । धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् ।
दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ (सद्भावना राजदूत)कारुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) र विश्व क्रिकेट जगत्को ध्यान प्रतियोगितामा तानिने विश्वास गरिएको आयोजकले विज्ञप्तिमार्फत् जनाएको छ ।
माघ २६ गतेबाट आयोजना हुने डीपीएल क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
डीपीएलको तेस्रो संस्करणलाई आइसीसीले मान्यता दिइसकेको छ ।
डीपीएल प्रतियोगिताको आयोजनासँगै देशमा पहिलोपटक खेलाडीको बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिकरुपमा अघि बढाइएको छ ।
प्रतियोगितामा सहभागी हुने ६ ओटै टोलीलाई दुईजना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्सन)को सुरुआत गरिएको हो ।
रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरी ६ ओटा ‘फ्रेन्चाइजी’ टोलीले सहभागिता जनाउँदैछन् ।
६ ओटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५/१५ खेलाडीलाई टोलीसँग आबद्ध गराइसकेका छन् ।
टी–२० प्रतियोगिता ‘लिगकम नकआउट’ चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक/एक खेल खेल्ने जनाइएको छ ।
शीर्ष चार टोली ‘प्ले–अफ’मा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनलमा पुग्नेछ ।
त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । रासस








प्रतिक्रिया दिनुहोस्