
उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धेरैजसो उपकरण आइसकेका छन् भने केही उपकरण आउनेक्रममा छन् ।
अस्पतालको मागबमोजिम स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरी यसअघि नै बजेट सुनिश्चितता पत्र अस्पताललाई दिएपछि खरिद प्रक्रिया अघि बढेको थियो ।
डा. मरासिनीकाअनुसार मिर्गौलाको डायलासिसका लागि आवश्यक १२ थान उपकरण अस्पतालमा जडान भइसकेको छ ।
जिल्लामा दुई मेडिकल कलेजले मात्र डायलासिस गर्दै आएकोमा अबको एक सातापछि भरतपुर अस्पतालमा पनि डायलासिस गरिने मरासिनीले बताए । त्यसैगरी, अस्पतालमा १२८ स्लाइसको सिटिस्क्यान मेसिन पनि जडान भइसकेको छ ।
जिल्लामा मेडिकल कलेज र अस्पतालमा भन्दा उच्चस्तरको उपकरण सरकारी अस्पतालमा भित्रिएको उनले बताए ।
सघन उपचारकक्षका लागि पाँचथान भेन्टिलेटर, थप एकसेट ल्याबका उपकरण, एउटा एक्सरे, दुईओटा अल्ट्रासाउन्ड, एनेस्थेसिया उपकरण चारथान, १५ ओटा शव राख्न मिल्ने एउटा फ्रिजर पनि थपिएको छ ।
कपडा धुने उपकरण पनि भित्र्याइएको छ । यसअघि अस्पतालमा हातले कपडा धोइँदै आएको थियो ।
त्यस्तै, अस्पतालभित्रै अक्सिजन उत्पादनका लागि आवश्यक उपकरणको एलसी खोली सकिएको छ । सबै उपकरण सार्वजनिक खरिद ऐनअन्तर्गत् खरिद गरिएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताए ।
मन्त्रालयले रु २३ करोड बजेट निकासा गरेकोमा प्रतिस्पर्धा भएका कारण रु ३० करोड बराबरको उपकरण खरिद गर्न सकिएको उनले बताए ।
चितवन र छिमेकी जिल्लाका गरी वार्षिकरुपमा करिब दुई लाख बिरामीले यो अस्पतालबाट सेवा लिने गरेको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।
गरिब जनताले आर्थिक अभावमा उपचार नपाउने समस्याको अन्त्य गर्न नयाँ–नयाँ उपकरण भित्र्याएर थप सेवा विस्तार गर्न अस्पताल लागि परेको पनि उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्