Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चूडामणि शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


0
Shares

न्यायाधीश पुरुषोत्तम भण्डारीको बुधबारको एकल इजलासले आधार र कागजप्रमाण प्रस्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत् असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न/गराउन आदेश दिएको हो ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराइ आवश्यक उपचारको व्यवस्था गर्नसमेत आदेशमा भनिएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाइ मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो ।

निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ ।

राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशानुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ ।

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप छ । रासस