
एक महानगरपालिकासहित ८ नगरपालिका र त्यतिकै गाउँपालिकासहित १७ स्थानीय तह रहेको मोरङमा कांग्रेसले ९ तहमा नेतृत्व गरेको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा देशैभर एमालेले पछाडि छाडेपनि मोरङमा भने कांग्रेसले आफ्नो साख जोगाएको हो ।
एमालेलाई पछि पार्दै पहिलो शक्ति बन्दा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा व्यहोरेको हारको सोधभर्ना पनि कांग्रेसले गरेको छ ।
०५४ सालमा विराटनगर उपमहानगरपालिकाको मेयर, उपमेयर एवं गाविस अध्यक्ष, उपाध्यक्षसहित प्रमुख ४६ गाविसमा एमालेको बहुमत थियो । तर, यसपटक स्थानीय तह निर्वाचनको यात्रासम्म आइपुग्दा एमालेले पाँच तहको नेतृत्व गर्दै चित्त बुझाउनुपरेको छ ।
एक महानगरपालिका, ८ नगरपालिका र त्यतिकै संख्यामा गाउँपालिकासहित १७ स्थानीय तह रहेको मोरङमा कांग्रेसले ९ तहमा बाजी मारेको हो ।
त्यसैगरी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र माओवादी केन्द्रले एक÷एक स्थानीय तह जितेर चित्त बुझाएका छन् ।
विराटनगर महानगरपालिकासहित ९ स्थानको प्रमुख पद जित्दै कांग्रेस पहिलो शक्ति बनेको हो ।
मोरङलाई आफ्नो पकेट क्षेत्र दाबी गरेपनि एमालेले बेलवारी र पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमामात्र सीमित बन्नुप¥यो । एमालेले ६ ओटा नगरपालिकामा उपप्रमुख, तीन गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ ।
नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित पाँच नगरपालिकाको प्रमुख जितेको हो । त्यसैगरी, एक नगरपालिकाको उपप्रमुख, तीन गाउँपालिकाको प्रमुख र दुई उपप्रमुखमा जित हासिल गरेको छ ।
माओवादी केन्द्रले भने रंगेली नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ ।
संघीय समाजवादी फोरमले जहदाको प्रमुख र उपप्रमुख जित्दै चित्त बुझाउनुपरेको हो ।
बूढीगंगा गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले प्रमुख उपप्रमुख एवं ग्रामथान गाउँपालिकामा उपप्रमुख पद जितेको छ ।
५ लाख ७४ हजार ५ सय मतदाता रहेको मोरङमा ४ लाख ३८ हजार २१४ मत खसेको थियो ।
मोरङमा पार्टीभित्रको अन्तरकलह, गुटगत राजनीति र उम्मेदवार छनोटमा गरिएको केन्द्रको हस्तक्षेपले पराजय व्यहोर्नुपरेको एमालेकै नेताहरुले जिकिर गर्न थालेका छन् ।
सुन्दर–हरैंचा, केराबारी, रतुवामाई, उर्लाबारीजस्ता नगरपालिकामा कांग्रेसले विजयको झन्डा फहराउनुको कारण एमालेले आफैंभित्रको कलहलाई ठानेपनि कांग्रेसले भने एकताबद्ध भएर निर्वाचनमा होमिँदाको परिणाम भएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्