
काठमाडौं, माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसँग अनशनरत् डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् ।
२२ दिनदेखि अनशनरत् डा.केसीलाई भेट्न बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्झौता गरेकाले माग पूरा गर्नुको विकल्प नभएको बताइन् ।
डा. केसीका माग सम्बोधन भए कसैको हार नभइ राष्ट्रको जित हुने उनको तर्क थियो ।
कार्कीले डा. केसीलाई ‘निश्चिन्त रहनोस्, तपाइँको माग पूरा हुन्छ । भावी सन्ततिका लागि पनि माग जायज छ’ भनेर आश्वस्त तुल्याएकी थिइन् ।
अनशनमै राखेर यसरी कुनै व्यक्तिलाई मारिन्छ भन्ने आफूलाई नलागेको भन्दै कार्कीले डा. केसीको मागलाई इन्कार गरिए तीन करोड नेपालीको भावनामा ठूलो प्रहार हुने बताइन् ।
उनले डा. केसीलाई ‘तपाइँको माग पूरा हुन्छ’ भनेर ढाडससमेत दिएकी थिइन् ।
डा. केसीलाई समाजका प्रतिष्ठित व्यक्तिहरुले भेटेर उनको अनशनमा ऐक्यबद्धता जनाइरहेका छन् ।
मंगलबारमात्रै अर्का पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले डा. केसीलाई भेटेर अनशनमा समर्थन जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्