Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बिहान ४ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हटाउन शुरु


0
Shares

बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारीसाधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

राति पहिरो खस्ने जोखिम बढेकाले काम रोकेर आज विहान पहिरो पन्छाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । ‘जोखिममा रहेका करिब ३०० गाडी पास गरायौँ, त्यसपछि रोकेर आज बिहानदेखि पहिरो पन्छाउने काम थालिएको छ,’ पन्तले भने ।

यसअघि पनि इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र चार किलो भन्ने स्थानमा पटकपटक पहिरो खसेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ ।

मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ । सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर तीनजना प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता छन् । (रासस)