Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जयपृथ्वी राजमार्ग अवरुद्ध, बझाङभर यातायात सञ्जाल बिच्छेद


0
Shares

आइतबारदेखि परेको लगातार वर्षका कारण मंगलबार मध्यराति राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो ।

तमैल बजारनजिकै रहेको जाल्याबगरमा सबैभन्दा ठूलो पहिरो खसेको छ भने तमैल बजारभन्दा माथि रहेको माल्ला लाग्ने भीरमा माथिबाट आएको पहीरोले पूरै सडक नै भासिएको छ । सो सडक सन्चालन गर्न अझै समय लाग्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने–‘यसबाहेक मटेला, देउरा, बगडगाउँलगायत थुप्रै ठाउँमा शाखा सडकबाट बगेर आएको हिलो राजमार्गमा थुप्रिएको छ । विभिन्न ठाउँमा गाडी फसेका छन् ।’

सडक अवरुद्ध भएपछि बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा तथा बाहिरी जिल्लाका लागि छुट्ने सबै सवारीका साधन बसपार्क, तमैल बजारमा नै थन्किएकाले यात्रा गर्ने तयारीमा रहेका यात्री ठाउँठाउँमा अलपत्र परेका छन् ।

यातायात सन्चालन नभएपछि अस्पतालले अन्यत्र सिफारिस गरेका बिरामीलाई निकै समस्या भइरहेको जयपृथ्वी नगरपालिका–४ का नरेन्द्रजंग खातीले बताए ।

उनले भने–‘आज चार दिनदेखि बाटो खुलेको छैन । केही सिकिस्त बिरामीका आफन्तले महँगो पैसा तिरेर बिरामीलाई बोकाएर भएपनि गाडी पाउने ठाउँसम्म पुर्‍याउन खोजिरहेका छन् । पैसा नहुनेलाई निकै समस्या भएको छ ।’

बाटो अवरुद्ध भएपछि कतिपय यात्री एक/दुई दिन हिँडेरै भएपनि गाडी पाउने ठाउँतर्फ जान थालेको उनले बताए ।

पहिरोका कारण जिल्लाको आन्तरिक यातायात सञ्जाल पनि बिच्छेद भएको छ । विभिन्न ठाउँमा पहिरो खसेर सडक बिग्रिएपछि जिल्लाभरका सबैजसो शाखा सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैनपुर मयाना, छविस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुंगल, चैनपुर तल्कोटर खप्तड छान्ना सडकलगायतका शाखा सडकमा पनि चार दिनदेखि यातायात सन्चालन हुन सकेको छैन ।

जिल्लाका विभिन्न ठाउँमा पुर्‍याउनका लागि धनगढी, महेन्द्रनगर र नेपालगन्जबाट औषधि खाद्यान्न तथा दैनिक उपभोग्य सामान बोकेका गाडी पनि बैतडीको खोड्पेदेखि बझाङको भाडेबजारसम्म विभिन्न ठाउँमा रोकिएको कर्णाली रिर्भर साइड बस ना४५ख ६७३५ नम्बरका चालक रण धार्मीले बताए ।

हप्ता दिन पुग्न लाग्यो यातायात बन्द हुँदा सदरमुकाम चैनपुरलगायत जिल्लाका विभिन्न बजारमा तरकारी र फलफूलको अभाव हुन थालेको छ । छिटो यातायात सन्चालन हुन नसके खाद्यान्न र औषधिको पनि अभाव हुने व्यापारीले बताएका छन् ।

लगातार पानी परिहरहेको र पहिरो पन्छाउन पर्याप्त मात्रामा डोजर नभएका कारण बाटो खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, केही ठाउँमा पहिरोले सडक नै भत्काएकाले सडक पुनः सन्चालन हुनेबारेमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘प्रयास गरिरहेका छौं, कहिले खुल्छ भनेर यसै भन्न सकिन्न ।’ एक/दुई दिन अझै लाग्नसक्ने उनको अनुमान छ ।

जयपृथ्वी राजमार्गको समानान्तर हुने गरी निर्माण गरिएका शाखा सडकका कारण बर्खायाममा समस्या हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए ।

उनले राजमार्ग कार्यालयसँग कुनै सल्लाह नगरी बनाइएका सडकबाट खसेको माटो र पहिरोका कारण राजमार्गको अवरुद्ध हुने गरेको खनालको भनाइ छ । रासस