
सप्तरी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आतंकले सप्तरीको पूर्व उत्तर क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।
रातको सहयमा हुल बाँधेर आउने हात्तीले घर भत्काउने, अन्नपात खाने र नष्ट गर्ने तथा मान्छे र पशुचौपायासमेतलाई आक्रमण गर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले वर्षौंदेखि गाउँमा आतंक मच्चाउँदै आएका छन् ।
जंगली हात्ती नियन्त्रण गर्न सरकारी निकायबाट कुनै पहल नभएको गुनासो स्थानीयको छ ।
केही दिनअघि मात्रै अग्निसाइर कृष्णसवरण गाउँपालिकामा हात्तीले झन्डै एक दर्जन घर तोडफोड गरी क्षति पुर्याएका छन् ।
गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले जंगली हात्ती नियन्त्रण गर्न गाउँपालिकासँग कुनै योजना नरहे पनि सर्वसाधारणको ५० लाख रुपैयाँ बराबरको क्षति गरेकाले तत्काल पीडितलाई ५ हजार रुपैयाँ वितरण गर्ने तयारी भइरहेको बताए ।
जंगली हात्तीले हैरानी दिएपछि आफूहरु रातभर जाग्राम बसेर हात्ती धपाउन बाध्य हुनुपरेको गुनासो स्थानीयको छ ।
उनीहरुले हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्