Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


गोकर्णेश्वर नगरपालिकाको बजेट ६७ करोड, जोरपाटीमा साततले गोकर्णेश्वर भवन बनाइने


0
Shares

नगर कार्यपालिकाले बिहीबार पारित गरेको बजेटलाई शुक्रबार बसेको नगरसभाले अनुमोदन गरेको हो । यो बजेट केही दिनमै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकाले शुक्रबार जोरपाटीमा आयोजना गरेको नगरसभामा प्रमुख सन्तोष चालिसेले प्रत्येक वडालाई रु चार करोडका दरले रु ३६ करोडको विकास बजेटसहितको कार्यक्रम प्रस्तुत् गरे ।

बजेटमा पूर्वाधार, सामाजिक, आर्थिक विकास, सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन निर्माण, जगेडा कोष, संस्थागत विकास एवं सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा विनियोजन गरिएको छ ।

बजेटमा एक वर्षभित्र जोरपाटीचोकमा साततले गोकर्णेश्वर भवन बनाइने उल्लेख गरिएको छ ।

नगरपालिकाको कार्यालयसमेत रहने यो भवनमा नगरवासीलाई आवश्यक सबै सेवा दिने सोच अघि सारिएको छ ।

प्रत्येक वडामा निःशुल्क वाइफाइसहित दुईओटा हरितचोक, ९ ओटै वडामा आधुनिक सुविधासहितको सार्वजनिक शौचालय, ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याइनेलगायत कार्यक्रम बजेटमार्फत् अघि सारिएको छ ।

बजेटमा खानेपानी, सरसफाइ, दलित, महिला, युवा, अपांगलगायतलाई मूल प्रवाहमा ल्याउने कार्यक्रम बनाइएको छ ।

प्रत्येक वडामा खेल मैदान निर्माणका लागि पनि बजेट छुट्याइएको छ । रासस