Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


बेलकोटगढी नगरपालिकाको बजेट करिब ४८ करोड, यस्ता छन् कार्यक्रम


0
Shares

नगरपालिकाको कार्यालय बाघखोरमा शुक्रबार भएको प्रथम नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।

सोअनुसार सामाजिक सुरक्षातर्फ रु सात करोड रहेको छ । रु २६ करोड ३८ लाख ६५ हजारलाई चालु खर्चतर्फ र पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

उक्त रकमको १८ दशमलव ४६ प्रतिशत चालुतर्फ र बाँकी रहेको ८१ दशमलव ५४ प्रतिशत पुँजीतर्फ खर्च गरिने बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए ।

नगरपालिकाले ग्रामीण सडकलाई स्तरोन्नति गर्ने कामलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख खनालले बेलकोटगढीलाई पर्यटकीय नगरकारुपमा विकास गर्न आवश्यक नीति तथा कार्यक्रमले प्राथमिकता राखेको बताए ।

नगरपालिकाले आगामी आवका लागि ‘आधुनिक समृद्ध नगरको आधारः कृषि पर्यटनसहितको पूर्वाधार’ भन्ने मूल नारा तय गरेको छ ।

नगरपालिकाले कृषि, पर्यटन, ग्रामीण सडक, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणलगायत क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

ककनी–रानीपौवा, गोरुवासी, आरुखर्क–चिम्लेश्वर, बाघखोर–च्यानथुम्का हुँदै देवीघाट जोड्ने पदमार्ग व्यवस्थित गर्ने, चिम्टेश्वरदेखि–बाघखोरसम्म सिँढी निर्माण गर्ने, वडादेखि केन्द्रसम्म जोड्ने सडक निर्माण गर्ने, नगरभित्रका ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान गर्ने, बेलकोटगढी, मदानपुरको वासुकी र दुईपीपलको डबलीको संरक्षण गर्ने, चिम्टेश्वरमा मदन भण्डारी उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने, वैद्य वनमा मनमोहन उद्यान तथा वनभोजस्थल बनाउनेलगायत कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१३ का अध्यक्ष पशुपति लोहनीले जानकारी दिए ।

कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने, माछा, च्याउ, बेमौसमी तरकारी खेती, अन्नबाली, जडीबुटी, फलफूल खेतीलाई प्राथमिकता दिने र आधुनिक कृषि प्रणालीमा विकास गरिने, पशुपालनमा उन्नत नश्ल सुधारसम्बन्धी कार्यक्रम सन्चालन गरिने, नगरपालिकामा खाद्य बैंकको स्थापना गर्ने, नगरपालिकाभित्र नयाँ उद्योग स्थापना गर्न लगानीमैत्री वातावरण बनाउने, विशेष आर्थिक क्षेत्र बनाउन पहल गर्ने, युवालाई रोजगार सिर्जना गर्ने खालका कार्यक्रम सन्चालन गर्ने, ‘एक वर्षका लागि बाली १० वर्षका लागि रुख, १०० वर्षका लागि विद्यालयको लगानी’ भन्ने मूल नारालाई लागू गर्ने, अंग्रेजी माध्यमको पढाइ क्रमशः लागू गरिने कार्यक्रम अघि सारिएको छ ।

शिक्षा क्षेत्रमा गरीब, दलित र जनजातिलाई छात्रवृत्ति प्रदान गरी पढ्न पाउने वातावरणको सुनिश्चितता गर्ने र अंग्रेजी शिक्षालाई क्रमशः लागू गर्ने नीति लिइएको छ ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईंले ‘नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा योजनालाई आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने र समृद्ध नगरपालिका निर्माणका लागि पूर्वाधार विकास गरिनेछ’–भने ।

तारकेश्वरको बजेट रु १० करोड ७० लाख
शुक्रबार नै तारकेश्वर गाउँपालिकामा आव २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत् गरिएको छ ।

विशेषगरी मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर प्रथम गाउँसभामार्फत् बजेट एवं नीति, कार्यक्रम प्रस्तुत् गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रमेश वस्तीकोे अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तारा रिमाल अधिकारीले रु १० करोड ७० लाख ५८ हजार बराबरको बजेट प्रस्तुत् गरिन् ।

यस्तै, शिवपुरी गाउँपालिकाले आव २०७४/७५ का लागि रु ३२ करोड ३१ लाख ४० हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत् गरिएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जु केसीले बजेट प्रस्तुत् गरेक थिइन् । रासस