Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पोखरा कप फुटबलमा सशस्त्रको विजयी सुरुआत, हिमालयन शेर्पा बाहिरियो


0
Shares

पोखरा, माघ १५ । सशस्त्र प्रहरीको एपीएफ क्लबले छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मंगलबार पोखरास्थित पोखरा रंगशालाको खेलमैदानमा भएको उद्घाटन खेलमा सशस्त्रले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

सशस्त्रलाई जिताउन आशिष लामा र सुदीप सिख्राकारले एक/एक गोल गरे । हिमालयनका लागि अमर डंगोलले एक सान्त्वना गोल फर्काए ।

जितसँगै सशस्त्र क्वार्टरफाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत् बुधबार च्यासल युथ क्लब र क्यामरुनको दाफिन्स फुटबल क्लबबीच खेल हुनेछ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहेको छ ।

विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ भने पाँच विधाका उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।