
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला तहबाटमात्रै मतदाता नामावली संकलन गर्ने तयारी गरेको आयोग चौतर्फी आलोचना र दबाबपछि नगर र गाउँपालिकाका केन्द्रबाट नामावली संकलन गर्न तयार भएको हो ।
आयोगको मंगलबारको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ ओटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गराउनसक्ने व्यवस्था गरेको हो ।
आयोगको पछिल्लो निर्णयअनुसार ७५ ओटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सो सेवा प्राप्त गर्न सक्नेछन् ।
निर्वाचन आयोगले यही साउन १ गतेदेखि जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने काम सुरु गरिसकेको छ ।
तर, अब नामावली संकलन गाउँ र नगरपालिकाको केन्द्रसम्म पुगेर गर्ने तथा नामावली संकलनको समयावधि पनि १५ दिन बढाएर साउन महिनाभर तय गरिएको छ ।
निर्वाचनको मिति नतोकिएसम्म नामावली संकलनकार्य थप बढ्ने पनि आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार बताए ।
राजनीतिक दलहरुले नामावली संकलनकार्य कम्तीमा गाउँपालिकास्तरसम्म पुग्नुपर्ने भन्दै आयोगलाई बारम्बार दबाब दिएका थिए । दलहरुको आग्रह र जनताको भावाना बुझ्दै निर्णय लिएको आयोगको तर्क छ ।
मतदाता नामावली संकलनको काम उत्साहका साथ भइरहेको दाबी पनि आयोगको छ ।
फोटोसहितको मतदाता नामावली संकलन स्थानीय तहबाटै हुने भएपछि छुटफुट भएका वा नयाँ वालिग नागरिकहरुले सहजरुपमा नामावली दर्ता गराउने अपेक्षा आयोगको छ ।
प्रतिक्रिया दिनुहोस्