यस अवधिमा ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । यो लक्ष्यको तुलनामा १०८ प्रतिशत र संशोधित अनुमानको तुलनामा १०५ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष मूल्य अभिवृद्धि करबाट १ खर्ब ६१ अर्ब, आयकरबाट १ खर्ब ५१ अर्ब, भन्सार महसुलबाट १ खर्ब १२ अर्ब संकलन भएको मन्त्रालयले जनाएको छ । यस्तै, अन्तःशुल्कबाट ८४ अर्ब राजस्व संकलन भएको छ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राजस्व प्रशासनमा गरिएको सुधारले राजस्व संकलनमा वृद्धि आएको बताए ।
करको दायरा विस्तार, राजस्व प्रशासनमा प्रविधिउन्मुख सेवाको विकास र विस्तारले राजस्व संकलनको लक्ष्य हासिल भएको उनको भनाइ छ ।
लक्ष्यानुसार राजस्व संकलन भएपनि पुँजीगत खर्चको अवस्था भने निरासाजनक रह्यो । गत आर्थिक वर्षमा ६५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको जनाइएको छ ।
यस वर्षको बजेट कार्यान्वयनमा गइसकेको अर्थ मन्त्रालयले जनाएको छ । यस वर्षदेखि बजेट पारित भइसकेपछि योजना आयोगबाट कार्यक्रम स्वीकृत गर्नुपर्ने छैन भने अर्थ मन्त्रालयबाट अख्तियारी पनि प्राप्त गर्नु नपर्ने व्यवस्था गरिएको छ ।
बजेटको ‘रातो किताब’मा परेका आयोजना स्वतः कार्यान्वयनमा जाने व्यवस्था पहिलोपटक गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्