
काठमाडौं, माघ १४ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया, बल्टियामा जन्तीबसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो ।
यस्तै, मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्योहोर्ने निर्णय पनि गरेको छ ।
बसमा करेन्ट लागेर घाइते भएका कुल २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् ।
बाँकी रहेका दुईजनामध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत् उपलब्ध गराउने छ ।
प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनैपनि लापरबाही नरहेको र नगरेको यसअघि नै प्रस्ट पारिसकेको छ ।
प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांका ११ केभी प्रसारणलाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।
त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको पनि उनले स्पस्ट पारे । सबैला नगरपालिकाले भने प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको छ ।
कोठिया, बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरको बसमा यही माघ ११ गते शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको थियो ।
मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्