Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङगोला


0
Shares

सात महिनाअघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङगोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङगोला सडक सञ्जालले जोडिएको हो ।

शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

जिल्लाको सबैभन्दा विकट क्षेत्रकोरुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसीले शुक्रबार रातभर नाचगानसहित जाग्राम नै बसेका थिए ।

टिपतालादेखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा रु तीन करोड बढी खर्च भएको छ ।

राज्यकोभन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिए । उनकाअनुसार रु दुई करोड ५० लाख बालुङ समाजले संकलन गरेको थियो ।

यस्तै, सांसद विकास कोष र साविकको गाविससमेतको गरी रु ५३ लाख रहेको छ ।

ओलाङचुङगोलामा जन्मिएर देश तथा विदेशमा बसोवास गर्दै आएका बालुङहरुले सडक निर्माणका लागि सहयोग गरेका हुन् । उपभोक्ता समितिले सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ ।

यता, २०६६ सालदेखि सुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङचुङगोला जोड्ने सडक निर्माणकार्य भने फक्ताङ्लुङ गाँउपालिकाकको तापेथोकमा पुगेको छ ।

हालसम्म ४१ किलोमिटर ट्रयाक खोलिएको छ भने बाँकी ३५ किलोमिटर ट्रयाक खुले ओलाङचुङगोलासँग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिनेछ ।

उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले यो सडक निर्माणका लागि सरकारले यो वर्ष ६० करोड रुपैयाँ विनियोजन गरेको र बहुवर्षीय ठेक्कामा लगाउने निर्णय भएको बताए । रासस