२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


‘बाढी–पहिरोबाट हुने जोखिम व्यवस्थापनका लागि सतर्क’


0
Shares

काठमाडौं, असार १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी–पहिरोसम्बन्धी सूचना प्रवाहमा क्रियाशील रहेको र विपद् व्यवस्थापनका लागि मन्त्रालय उच्च सतर्कतामा रहेको जनाएको छ ।

मन्त्रालयले हालै बाढी–पहिरोको क्षति न्यूनीकरण गर्न गठन गरेको मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समितिबारे जानकारी दिन सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालय सतर्क अवस्थामा रहेको जनाएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रालय सम्भावित जोखिमसम्बन्धी सूचना प्रवाहका लागि लागिपरेको र २४ सै घन्टाका लागि सतर्क रहेको भन्दै सर्वसाधारणलाई सचेत रहँदै ढुक्क हुन आग्रह गरे ।

उनले मन्त्रालयस्तरीय समिति कुनै समानान्तर अंग नभइ प्रधानमन्त्रीअन्तर्गत्को विपद् व्यवस्थापन राष्ट्रिय परिषदलाई प्राविधिक सहयोग गर्नका लागि गठन भएको प्रस्ट पारे ।

८० प्रतिशत विपद् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बद्ध रहने गरेको पाइएकाले समिति गठन गरिएको पनि उनले उल्लेख गरे ।

मन्त्रालयको जलस्रोत महाशाखा प्रमुखको संयोजकत्वमा गठित उक्त समन्वय समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिँचाइ विभाग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरण सदस्य तथा जल उत्पन्न प्रकोप व्यवस्थापन शाखा प्रमुख सदस्यसचिव रहेका छन् ।

समितिका संयोजक महेश्वर नरसिंह केसीले समितिको कार्यभार र गरिरहेका कामबारे जानकारी गराएका थिए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले ७२ घन्टाको मौसम पूर्वानुमान गरी सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई वेब, एसएमएस, साइरन, ट्वीटर, फेसबुकलगायत विभिन्न माध्यबाट सूचित गरिरहेको जानकारी गराए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीका कारण हालसम्म विद्युत् संरचनामा खास क्षति नभएपनि बिजुली प्रवाह भने केही प्रभावित भएको बताए ।

‘लो ल्यान्ड’मा बाढीले पोल र सबस्टेसनहरु डुब्ने अवस्था आएमा भने बिजुली अवरुद्ध हुनसक्ने उनले उल्लेख गरे ।