
कतारमाथि उसका छिमेकी चार ओटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेदगरी नाकाबन्दीसमेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुँदे शर्त राखेर कतारलाई पत्र पठाएका थिए ।
पत्रमा कतारमाथि बिभिन्न शर्त राखिएको छ । ती मध्येका केही शर्तमा ‘अल जाजिरा टेलिभिजन’ बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ । तर, ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन ।
कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । त्यसैक्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरु पनि सार्थक हुन सकिरहेको छैन ।
यसैबीच, सो समस्या समाधानको पहलस्वरुप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गर्ने भएका छन् । उनले कतार र साउदी अरेबियाको भ्रमण गर्ने बताइएको छ ।
टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले आइतबार (आज)देखि नै सो भ्रमण गर्न लागेकोे जानकारी दिइएको छ ।
पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उनको कार्यालयले जनाएको छ । तर, त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।
आइतबारदेखि यही जुलाई २५ तारिखसम्म हुन लागेको उनको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ । तर, यसअघि भने टर्कीले मध्यस्थताको केही कुरा उठाएको छैन ।
कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।
कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गतहप्ता साउदी अरब पुगेका थिए ।
‘फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरुलाई पनि दुःख दिएको छ’ ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए ।
विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भएपनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।
रियादको भ्रमणपछि उनी कुवेत र संयुक्त अरब इमिरेट्स पनि पगेका थिए । उनले सो भ्रमणमा छलफलबाटै संकटको समाधान खोज्न जोड दिएका थिए ।
उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लंघन गरेका प्रमाणहरु रहेको दावी गर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिएका थिए ।
पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरुले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवस्ता गरेको बताएका छन् ।
तर, यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ । रासस/सिन्ह्वा/एएफपी
प्रतिक्रिया दिनुहोस्