Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नारायणगढ–मुग्लिन सडकखन्डमा रातमा पनि काम


0
Shares

                                                                              फाइल फोटो
उक्त सडकखन्डको घुमाउने र चेपाङडाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार राति ९ बजेदेखि बिहान ४ बजेसम्म काम गर्न थालिएको हो ।

नारायणगढबाट २२ किलोमिटरको दूरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने हुन्छ । दुईओटा एक्साभेटर र दुईओटा लोडर राखेर कामलाई तीव्रता दिइएको उनले बताए ।

२०० मिटर लम्बाई र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा करिब ६ मिटरमात्रै फराकिलो छ ।

सडकलाई १८ मिटर फराकिलो बनाइँदैछ । उक्त ठाउँमा करिब ३५ प्रतिशत काम बाँकी रहेको खनालले बताए ।

रातमा सवारी–साधन आवागमन बन्द गरेपछि असार २७ गतेबाट सो ठाउँमा रातिमा बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङडाँडामा पनि रातिमा काम थालिएको छ ।

नारायणगढबाट ३३.८ किलोमिटर मुग्लिनतर्फ चेपाङडाँडा पर्दछ । सो ठाउँमा केन्टिलिभर राखिने भएपछि ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । सो ठाउँमा सडक पाँच मिटर फराकिलो रहेको छ ।

चेपाङडाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । उक्त ठाउँमा ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ ।

काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेलिङ गरेर सम्याउने काम थालेको छ ।

हाल कालोपत्र गर्न तयारी थालिएको छ । सडकको ५.५ किलोमिटर क्षेत्रमा एक तहको कालोपत्र भएको भएपनि अन्य क्षेत्रमा काम हुनसकेको छैन ।

सडकको ८०० मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी रहेको छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । रासस