२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


निर्मला पन्त हत्याबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बुझायो प्रतिवेदन, यस्तो छ निश्कर्ष


0
Shares

काठमाडौं, माघ १३ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारलाई पेश गरेको छ ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनमाथि आयोगको बैठकमा छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबुँदे सिफारिस एवम् २४ बुँदे निर्देशनसहित सरकारलाई प्रतिवेदन पेश गरेको हो । 

गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो । पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा सदस्य थिए । 

प्रतिवेदनमा घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्काले गम्भीर प्रकृतिको हत्या देखाएको, अनुसन्धानका क्रममा घटनाको विभिन्न चरणमा खिचिएका तस्बीरहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग र खुट्टामा चोटपटक लागेको देखिएको उल्लेख छ ।

मृतक पन्तको शरीरबाट डिएनए परीक्षणका लागि लगिएको ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरु सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना सङ्कलन गरिएको देखिँदा सङ्कलन प्रक्रिया दोषमुक्त नदेखिएको उल्लेख छ । प्रहरीले अनुसन्धान गर्दा घटनाप्रति संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्