अहिले चलन–चल्तीमा रहेका खाना पकाउने ग्यासका फलामे सिलिन्डर अत्यधिक जोखिमयुक्त भएपछि नेपाली व्यवसायीले त्यसको विकल्पमा कम्पोजिट फाइबर ग्यास सिलिन्डर आयात गर्न थालेका छन् ।
फलामबाट बनेका सिलिन्डर पड्किएर दुर्घटना बढ्न थालेकाले सरकारले कम्पोजिट सिलिन्डरको प्रयोगलाई बढावा दिने नीति लिएअनुसार नयाँ ग्यास सिलिन्डरहरु भित्र्याउन थालिएको हो ।
सरकारले निजी क्षेत्रलाई गुणस्तरको मापदन्ड पूरा गरेर यस्ता सिलिन्डर आयातको अनुमति दिएको छ ।
वीरगन्जको कर्मम भाग्यम कम्पनी प्रालिले भारतबाट यस्ता सिलिन्डर स्वदेशी बजारमा भित्र्याएको छ ।
कम्पनीले भारतको द सुप्रिम इन्डष्ट्रिज लिमिटेडले उत्पादन गरेका ‘कवज’ ब्रान्डका कम्पोजिट सिलिन्डर आयात गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक किशोरीलाल टिवडेवालले भने–‘अहिले साढे १४ किलो क्षमताका सिलिन्डर बजारमा ल्याइएको छौं, पछि ५ देखि १९ किलोसम्म ग्यास भर्न सकिने सिलिन्डर ल्याउने योजना छ ।’
फलामे सिलिन्डरको तुलनामा कम्पोजिट सिलिन्डर धेरै सुरक्षित हुने आयातकर्ता कम्पनीको दाबी छ ।
यो सिलिन्डर फाइबर ग्लासबाट बनेको र आवरण प्लास्टिकको भएकाले कुनैपनि कारणले विस्फोट नहुने प्रबन्ध निर्देशक टिवडेवालले दाबी गरे ।
‘कुनै कारणले आगोलागी भइहालेमा यो सिलिन्डर पग्लिएर जान्छ । तर, पड्कँदैन’–उनले भने ।
फाइबरबाट बनेको सिलिन्डर पारदर्शी हुने भएकाले ग्यासको परिमाण उपभोक्ताले बाहिरबाटै देख्न सक्छन् । जसका कारण ग्यासको तौलमा उपभोक्ता ठगिने सम्भावना पनि नहुने उनको भनाइ छ ।
कम्पोजिट सिलिन्डरको तौल फलामका सिलिन्डरको तुलनामा आधामात्र हुन्छ । यसबाट ढुवानी सजिलो हुने आयातकर्ताले बताए ।
कम तौलका कारण नेपालका दुर्गम क्षेत्रमा पुर्याउन सजिलो हुने टिवडेवालले बताए ।
साढे १४ किलो ग्यास अटाउने यस्तो एक सिलिन्डरको तौल साढे ७ किलो हुन्छ । फलामको एक सिलिन्डरको तौल १४ देखि १५ किलो हुने व्यवसायीहरु बताउँछन् ।











प्रतिक्रिया दिनुहोस्