पार्टीको नाम, पद र राजनीतिक मुद्दामा सहमति हुन नसकेपछि एकता प्रयास विफल भएको जनाइएको छ ।
पार्टी पदाधिकारी र पार्टीको नामका विषयमा कुरा नमिलेपछि तत्कालका लागि नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया टरेको हो ।
त्यस्तै, पार्टीभित्रको आन्तरिक व्यवस्थापन र कार्यदिशामा सहमति बन्न नसक्नु पार्टी एकता प्रयास विफल हुनुको अर्को कारण हो । त्यसो त पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा यी दुई पार्टीले तालमेलसमेत गरेका थिए ।
पार्टी एकीकरण प्रयास विफल भएपछि आगामी चुनावहरुमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको चुनावी तालमेलसमेत अन्योलमा परेको छ ।
पार्टी एकता अनिश्चित भएसँगै अब चुनावी तालमेल वा कार्यगत एकता के हुने भन्ने विषयमा दुबै दल निर्णयविहीन छन् ।
नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेल आफूहरु अग्रगामी कार्यदिशाका साथ अगाडि बढ्न खोजेको तर फोरम नेपालसँग कार्यदिशालगायतका विषयमा कुरा मिल्न नसकेको बताउँछन् ।
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेकप्रताप शाहले नयाँ शक्ति नेपालको आन्तरिक समस्या, सांगठनिक संरचनालगायतका विषयमा कुरा मिल्न नसक्दा तत्काल एकीकरण हुननसकेको बताउँछन् ।
तत्काल एकीकरण हुन नसकेपनि एकीकरणको ढोका बन्द भने नभएको दुबै पक्षका नेताहरुको भनाइ छ ।
त्यसो त दुई पार्टीबीचको आचरण पनि फरक छ । संघीय समाजवादी फोरम नेपाल क्षेत्रीय र जातीय एजेन्डा बोकेर राजनीति गरिहेको छ ।
तर, नयाँ शक्ति नेपाल राष्ट्रिय राजनीति गरिरहेको र जातीय एजेन्डाइतरको दलकोरुपमा चिनिएको छ ।
यी दुई दलबीच एकीकरण भएपनि सबैभन्दा समस्यामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई नै पर्ने देखिन्छ । किनकि एकीकरणपश्चातको दल राष्ट्रिय वा क्षेत्रीय हुने या राजनीतिक हुने कि जातिय एजेन्डाइतरको हुने भन्नेमा नैतिक संकट पर्ने देखिन्छ ।
नयाँ शक्ति नेपालभित्रकै अधिकांश नेताहरु पार्टी एकीकरणको पक्षमा खुलेर लाग्न सकेका छैनन् ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्