
निर्वाचन आयोगले साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्न शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा दिनहुँ सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
घुँइचो बढेपछि ६ वटा डेस्कबाट नामावली संकलनको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भर्खर मात्र सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सहभागी हुन नपाउँदा सर्वसाधारण पछुतो मान्दै मतदाता नामावलीमा नाम लेखाउन पुग्ने गरेका छन् ।
साउन १६ गतेदेखि सम्बन्धित स्थानीय तहबाट नामावली संकलन हुने भए पनि गाउँपालिका र नगरपालिकाबाट बस नै रिजर्भ गरेर आउनेको संख्या बढ्दो रहेको छ ।
दैनिक ५ सयदेखि ८ सयसम्मले नाम दर्ता गराउने गरेको कार्यालयले जनाएको छ ।
नामावली दर्ता गराउनेको संख्या बढ्दै गएपछि बिहान ९ बजेदेखि राति ८ बजेसम्म नामावली संकलनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
नवलपरासीमा साउन १ देखि ६ हजारले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद बस्नेतले जानकारी दिए ।
मतदाता नामावली संकलन सुरु भएसँगै नागरिकता लिनेको संख्या पनि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यता, निर्वाचन आयोगले मतदाता नामावली संकलन पुनः सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पनि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।
नाम दर्ता सुरु गरेको १२ औं दिनसम्ममा सप्तरीमा कुल १ हजार ६ सय २९ जनाले नाम दर्ता गराइसकेको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिए ।
जसमा ५ सय ४४ महिला र १ हजार ८५ पुरुष छन् । नाम दर्ता गराउन जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट समेत सर्वसाधारण आइरहेकाले विदाको दिनमा समेत कार्यालय खोलेर काम गर्ने ब्यवस्था मिलाइएको छ ।
स्थानीय तह निर्वाचनमा मतदान गर्न नपाउने र स्थानीय तहमै मतदाता नामावली संकलन गर्न टोली खटाईने सूचनालाई प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसकिएका कारण जिल्लामा सर्वसाधारणको घुइँचो लागिरहेको प्रमुख ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस्