राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित • Image Khabar Image Khabar


राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित


Imagekhabar
१८ असार २०७५, सोमबार ०८:५७

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

काठमाडौं, असार १८ । प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।

विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धि हासिल गर्न पुँजी परिचालन गर्नुपर्ने र त्यसका लागि राजश्व उठाउनाका साथै वैदेशिक ऋण लिनुपरेको स्पस्ट पारेका थिए ।

डा. खतिवडाले बजेटमा लिइएको आन्तरिक ऋण राज्यका दायित्व निर्वाह गर्न खर्च गरिने बताउँदै ऋणको ब्याज बोलकबोलका आधारमा लिइने स्पस्ट पारे ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथिको छलफलमा भाग लिँदै आन्तरिक ऋणको उचित व्यवस्थापन नभए अर्थतन्त्रमा नकारात्मक र दूरगामी प्रभाव पर्नेछ भन्दै गत आवको जतिमात्र आन्तरिक ऋण उठाउन सुझाएका थिए ।

छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बजेटमा लिइने ऋणको ब्याजदरकाबारेमा प्रश्न गरेका थिए ।

बैठकले ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ विधेयक पनि बहुमतले पारित गरेको छ ।

बैठकमा डा. खतिवडाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

बैठकमा विधेयकका सम्बन्धमा प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

शान्ति–प्रक्रियासँग सम्बन्धित विधेयक पारित 

सोमबारैको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले शान्ति–प्रक्रियाका केही काम अझै टुंग्याउन बाँकी रहेकाले विधेयक ल्याउनुपरेको बताएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असार २० गते अपराह्न १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्