
शुक्रबार (आज) ‘पनामा पेपर कान्ड’बारे सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले सरीफ प्रधानमन्त्रीका लागि अयोग्य रहेको फैसला गरेको केही समयपछि नै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
सन् २०१५ मा ‘पनामा पेपर लिक’ भएपछि भष्ट्राचारको आरोपमा उनी र उनको परिवारको सम्पत्तिबारे जाँच सुरु गरिएको थियो । जसमा सरीफको छोरी मरियमको नाममा रहेको कम्पनीलाईसमेत अनुसन्धानको दायरामा लिइएको थियो ।
सरीफमाथि भष्ट्राचारको आरोप लागेपनि उनले गलत प्रचार गरिएको भन्दै खन्डन गर्दै आएका थिए ।
इस्लामावादस्थित सर्वोच्च अदालतका पाँच न्यायाधीशको सर्वसम्मत् निर्णयले उनी प्रधानमन्त्रीको पदका लागि योग्य नभएको फैसला गरेको थियो ।
फैसला सुनाउने न्यायाधीशमध्ये एक एजाज अफजल खानले भने, ‘श्री शराफ अब सांसदको एक इमान्दार सदस्य हुन योग्य छैनन् ।’
अदालतको फैसला आएको केही समयपश्चात् सरीफको कार्यालय प्रवक्ताले दिएको भनाइमा भनिएको छ, ‘फैसलापछि नवाज सरीफले प्रधानमन्त्री पदको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।’
यसलगत्तै त्यहाँ विपक्षी दलले खुसियाली मनाउन सुरु गरेका छन् । हिंसा भड्कनसक्ने भन्दै राजधानी इस्लामावादमा हजारौं सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहेको र उच्च सुरक्षा सतर्कता अपनाइएको बीबीसीका संवाददाताहरुले बताएका छन् ।
पाकिस्तानका आन्तरिकमन्त्री चौधरी निशार अली खानले सरीफलाई पहिल्यै नै अदालतबाट आउने फैसला स्वीकार गर्न सल्लाह दिएको बताएका छन् ।
त्यस्तै, अदालतले सरीफकी छोरी मरियम तथा उनका पति सफ्दर, वित्तमन्त्री इशाक डारसहित अरु कैयौं व्यक्तिलाई भष्ट्राचारको आरोपमा छानबिन गर्नसमेत सिफारिस गरिएको जनाइएको छ ।
तेस्रोपटक प्रधानमन्त्री भएका नवाज सरीफ पाकिस्तानका १८औं प्रधानमन्त्री पदमा आसिन थिए ।
यसअघि, सन् १९९० जुलाईदेखि १९९३ सम्म र सन् १९९७ फेब्रुअरीदेखि १९९७ सम्म पनि उनी प्रधानमन्त्री बनेका थिए ।
तर, तीनपटकसम्म प्रधानमन्त्री बनेका उनी तीनैपटक पाँच वर्षे पूरै कार्यकाल भने पदमा रहन पाएनन् ।
प्रतिक्रिया दिनुहोस्