Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


मुस्ताङको कोरला नाकामा सुक्खा बन्दरगाह राख्ने तयारी


0
Shares

                                                                                  फाइल फोटो
मुस्ताङको कोरलास्थित भन्सार कार्यालय परिसरमा राख्ने बन्दरगाहको डिजाइन तयार भइसकेको र गत आर्थिक वर्षको बजेटमा रकम विनियोजन भइसकेकाले भन्सारको स्तरोन्ति र निर्माणको काम अघि बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले बताए ।

उनले भने–‘कोरला भन्सारको भौतिक निर्माण र बन्दरगाह स्थापनाका लागि जमिन र बजेटसमेत प्राप्त भइसकेको छ, भन्सारको काम अन्तिम चरणमा पुगिसकेको छ ।’

कोरलामा बन्दरगाह राख्न २०६४ सालमा भन्सार प्रक्रिया अघि बढेको भएपनि राजनीतिक उचार–चढाव र संक्रमणकालका कारण बन्दरगाह स्थापनाकार्य ओझेलमा परेको थियो ।

बन्दरगाह स्थापनाका लागि १०९ रोपनी जग्गा भन्सार कार्यालयले प्राप्त गरिसकेको निर्देशक बस्नेतले जानकारी दिए ।

हाल भन्सारको भवन निर्माण, कर्मचारी बस्ने तातो घर (हट रुम) र गोदाम घर निर्माण भइसकेको मुस्ताङ भन्सारका प्रमुख शुक्रदर्शन ढुंगानाले बताए । उनकाअनुसार सरकार र विभागको निर्देशनअनुसार भवनलगायत निर्माणका काम गरिएको हो ।

कालीगन्डकी करिडोरअन्तर्गत् नवलपरासीको गैंडाकोटदेखि कोरलासम्मको ४३५ किलोमिटर सडक निर्माणको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षभित्र यसको सम्पूर्ण काम सकिने कालीगन्डकी करिडोर आयोजनाले जनाएको छ ।

अहिले कोरला आसपासका क्षेत्रमा बोडर आउट पोस्ट (बीओपी) सशस्त्र प्रहरी र उपल्लो मुस्ताङको लोमन्थाङमा सेनाको ब्यारेक राख्ने काम धमाधम भइरहेको कार्यकारी निर्देशक बस्नेतले बताए ।