
गृष्मा राजभण्डारी/नारायणी लामिछाने/कबिर महर्जन (इमेज)
काठमाडौं, असार १८ । लगातारको झरीका कारण त्रिभुवन विमानस्थलबाट हुने अधिकांश उडान प्रभावित भएका छन् ।
जसका कारण हवाई यात्रीहरुलेसमेत आफ्नो यात्रा स्थगित गर्नुपर्ने अवस्था आएको छ ।
प्रतिकूल मौसमका कारण हवाईमार्ग हुँदै यात्रा गर्ने अधिकांश यात्रीहरु विमान उडानको समय ढिलो भएको जानकारी सुन्न बाध्य भए ।
गन्तव्यमा छिटो पुग्नका लागि हवाईमार्ग रोजेका यात्रीहरु विमान नउडेपछि घन्टौं प्रतीक्षालयमा बस्न बाध्य भए ।
राजधानीबाट सिमरा, भरतपुर, जनकपुरलगायतका गन्तव्यमा जानका लागि विमानस्थल पुगेका यात्रीहरु विमानस्थलमा नै अलपत्र परेका हुन् ।
सम्बन्धित एअरलाइन्सहरुले वैकल्पिक उपाय अपनाउने आशामा घन्टौंसम्म प्रतीक्षा गरिरहे यात्रीहरुले ।
मौसम अनुकूल नभएकै कारण आइतबार अधिकांश उडानहरु रद्द भएका थिए भने सोमबार दिउँसो १२ बजेपछिमात्र केही उडानहरु भएको नागरिक उड्डयन प्राधिकारणका सूचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनैपनि कारणले यात्रीले दुई घन्टाभन्दा बढी कुर्नुपरेमा विमान कम्पनीले ‘रिफ्रेसमेन्ट’को व्यवस्था गर्नुपर्ने हुन्छ ।
तर, नेपालका एयरलाइन्सहरुले यात्रीलाई ७/८ घन्टा कुराउँदा पनि एक गिलास पानीसमेत नसोध्ने गुनासो यात्रीहरुले गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्