२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


जहाँ अंग्रेजी पढाउने शिक्षक छैनन्, अंग्रेजी विषयको पढाइ नै हुँदैन (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

धनुषा, माघ १२ । धनुषा जिल्लाका अधिकांश विद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षक नै छैनन् । जसका कारण विद्यार्थीले अंग्रेजी विषय नै पढ्न पाएका छैनन् ।

यसबारे सरोकारवाला पूर्णरुपमा जानकार भए तापनि कुनै पहल भएको छैन ।

धनुषा जिल्ला सपही–२, बनिगाहास्थित जनता निम्न माध्यमिक विद्यालयमा कक्षा–८ मा पढ्दै गरेकी आरती यादवको अहिलेसम्म राम्रोसँग अंग्रेजी विषय पढ्न नपाएको गुनासो छ ।

५ कक्षासम्म अरु विषयका शिक्षकले नै अंग्रेजी पढाउने तर अहिले अंग्रेजीको परीक्षामा जे आउँछ, त्यो लेखेर आउने, केही नआए नाममात्र लेख्दा पनि विद्यालयले ‘फेल’ भने नगरेको आरतीले बताइन् ।

कक्षा–८ सम्म पठनपाठन हुने यस विद्यालयमा कक्षा–६ देखि अंग्रेजी विषयको पढाइ नै हुँदैन ।

अंग्रेजी विषयको परीक्षा भने हुन्छ । तर, विद्यार्थी के लेखेर पास भए ? भन्ने प्रश्नमा विद्यालयकी प्रधानाध्यापक सुनिता यादवले चित्तबुझ्दो जवाफ दिन सकिनन् ।

सरकारले शिक्षक नै नदिएका कारण समस्या भएको उनको भनाइ छ ।

यो विद्यालयका कक्षा–५ मा पढ्ने धेरै विद्यार्थीलाई राम्रोसँग लेख्न र पढ्नसमेत आउँदैन । आफ्नो नाम र विद्यालयको नाम लेख्न नै उनीहरुलाई समस्या छ ।

विद्यार्थीले राम्रोसँग लेख्न–पढ्न सक्दैनन् भन्ने थाहा भएका शिक्षकलाई यसप्रति कुनै चासो नै देखिँदैन ।

राष्ट्रिय प्राथमिक विद्यालयमा अंग्रेजी शिक्षक नै छैनन् । प्रधानाध्यापक रामभगत यादव आफैंले सबै विषय पढाउँछन् ।

धनुषा जिल्लाका धेरै विद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षकको अभाव छ । तल्ला तहका कक्षासम्म अरु विषयका शिक्षकले नै जेनतेन पढाउने गरे तापनि माथिल्लो कक्षामा भने अंग्रेजी विषयको पठनपाठन नै हुँदैन ।

भिडियो हेर्नोस्