काठमाडौंमा आइतबार गरिएको साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई एक÷दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने तयारी भइरहेको बताए । उनले प्रस्ताव फेल वा पास जे भए पनि त्यसलाई स्वीकार गरेर राजपा पनि निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
नेता पुनले प्रतिपक्षी नेकपा एमालेलाई पनि संविधान संशोधनका विषयमा लचिलो हुन आग्रह गरे । उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्नै हुन्न भन्ने एमालेको अडान गलत रहेको बताए । संशोधनको कुरा राष्ट्रघाती र विदेशीको प्रभावमा ल्याएको देख्ने दृष्टिकोणबाट अब एमाले मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
नेकपा एमालेका नेता प्रकाश ज्वालाले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताए । उनले आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्नुको विकल्प नभएकाले राजपालाई पनि विनाशर्त निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
ज्वालाले भने, ‘संविधान कसैको एकलौटी घोषणापत्रजस्तो होईन, यसमा हाम्रा पनि थुप्रै असहमतिहरु छन्, उहाँहरुको पनि छन, तर निर्वाचनमा जाने कुरा अरु विषयसँगको बार्गेनिङ् हुन सक्दैन ।’
राजपाका नेता महेन्द्र राय यादवले मधेसको जायज माग जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने बताए । उनले माग पूरा नभए आफूहरु निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे । संविधान संशोधन गरी आफूहरुका माग पूरा भए निर्वाचनमा सहभागी हुने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्