२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


‘बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद्, प्राधिकरणको लापरबाही छैन’


0
Shares

काठमाडौंं, माघ १२ । नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया, बल्टियामा जन्तीबसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनैपनि लापरबाही नरहेको र नगरेको प्रस्ट पारेको छ ।

प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले रासससँग कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्यांका ११ केभी प्रसारणलाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।

‘प्रसारणलाइनका तार तल झरेको छैन । सामान्य अवस्थामा नै छ’–उनले भने–‘करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्तीबस त्यहाँबाट पार गरेको थियो, त्यसमा केही भएन । तर, करेन्ट लागेको गाडीको छतमा ट्यांका राखिएको र त्यसले नांगो तारमा छुँदा दुर्घटना भएको हो । यसमा चालकले ध्यान नदिएको देखिन्छ ।’

त्यस स्थानमा प्रसारणलाइनको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको उनले स्पस्ट पारे ।

सबैला नगरपालिकाले भने प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको छ ।

कोठिया, बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको थियो ।

घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस