१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुर–१९ मा पहिलेभन्दा २७ मत कम खस्यो, मतगणनास्थलमा जाली लगाइयो


0
Shares

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो ।

सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा ९५३ र शारदा मावि शारदानगर केन्द्रमा ९०३ मत खसेको छ ।

यसअघि, सो वडामा दुई हजार ८९७ मत खसेको थियो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो ।

दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाइँको चटारो, नारायणगढ–मुग्लिन सडकखन्ड अवरुद्ध तथा दुईपटक मतदान गर्नुपर्दा मतदाता रुस्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ ।

महानगरपालिकाका २७ ओटा वडाको मतगणना सम्पन्न भइसकेर दुईओटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो ।

२७ ओटा वडाको अन्तिम परिणामनुसार नेकपा एमालेका प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेका थिए । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ ।

मतपत्र संकलन भएपछि दलको सहमति भएमा शुक्रबारै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।

यसअघि, मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्डहलमा तीन सीसी क्यामरा जडान गरिएको छ ।

मतगणनास्थलमा जाली लगाइ प्रतिनिधि जालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ । रासस