
अर्घाखाँची । १६ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ का स्थानीय खुशी भएका छन् ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वका क्रममा २०५९ सालमा सदरमुकाममा आक्रमण हुँदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।
देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो ।
विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको ८ पालीमा एक हजार जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । लालपुर्जा नहुँदा स्थानीयले बैंकमा जग्गा धितो राखेर ऋण लिन सकेका थिएनन् ।
जिल्लाको ७० प्रतिशत नक्सा तयार भइ सकेकाले अब दुई वर्षमा जिल्लाका सबै नक्सा तयार गर्ने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताए ।
प्रदेश सांसद रामजी घिमिरेले पहिला माओबादीले द्वन्द्वमा जलाएका नक्सा अहिले सरकारसँग रहेकाले अब क्रमशः सबैले जग्गाधनी दर्ता प्रमाण पुर्जा पाउने बताए ।
प्रतिक्रिया दिनुहोस्