१५ दिनभित्र जारी गर्ने भनिएको निर्देशिकाको मस्यौदा वाणिज्य मन्त्रालयमै थन्किएर बसेको छ ।
निर्देशिका जारी नहुनुमा सुनचाँदी व्यवसायी र राज्यले एक–अर्कालाई दोष लगाएका छन् ।
वैज्ञानिक गहना कारोबार निर्देशिका जारी नहुँदा गहना व्यवसाय क्षेत्र अन्योलमा छ । सरकारले गहनाको शुद्धतालाई लिएर सुनचाँदी पसलमा अनुगमन गरेपछि चार वर्षअघि सरकार र गहना व्यावसायिक संगठनबीच गहना कारोबार निर्देशिका बनाउने सहमति भएको थियो । सोही सहमतिअनुसार निर्देशिका निर्माण गरिएको हो ।
शनिबार काठमाडौं सुनचाँदी व्यवसायी संघको १५औं साधारणसभासमेत गहना कारोबार निर्देशिकालाई अविलम्ब लागू गर्ने विषयमा सरोकारवालाहरुले आवाज उठाएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी व्यवसायीका संगठनबीचकै जुँगाको लडाइँका कारण गहना कारोबार निर्देशिका लागू हुन नसकेको र त्यसको जिम्मेवार व्यवसायी नै भएको बताए ।
काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले व्यवसायी र उपभोक्तामैत्री गहना कारोबार निर्देशिका अहिलेको आवश्यकता भएको बताए ।
मुलुकको राजनीतिक अस्थिरताले कर्मचारी प्रशासन र मन्त्रीहरुको फेरबदलका कारण निर्देशिका जारी हुन नसकेको उनले बताए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बिपीन रामदामले सरकारले व्यावसायिक हितलाई मध्यनजर गर्दै निर्देशिका जारी गर्न आलटाल गरेको आरोप लगाए ।
व्यावसायिक संगठनले नै बनाएको नीति–नियममा व्यवसाय सन्चालन भएको भन्दै उनले राज्यले चासो नदिनु दुर्भाग्य भएको बताए ।
मुलुकभर २० हजारभन्दा बढी गहना व्यवसायी छन् भने लाखौंले यस क्षेत्रमा रोजगारी पाएका छन् । यो क्षेत्रबाट राज्यले वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्ने गरेको छ ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्