
बिराज रोस्यारा (इमेज)
कैलाली, माघ १० । कन्चनपुरस्थित दशगजा क्षेत्रनजिक भारतीय पक्षले एकलौटीरुपमा ‘ट्रेन्च’ खन्ने कार्य सुरु गरेपछि नेपाली पक्षले उक्त कार्यमा रोक लगाएको छ ।
पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार क्षेत्रतर्फ नेपाली पक्षसँग समन्वय नै नगरी धमाधम डोजर लगाएर ट्रेन्च निर्माणको कार्य सुरु गरेपछि काममा रोक लगाइएको हो ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको सीमानजिक कुनै मुलुकलाई प्रभाव गर्नेगरी कुनैपनि संरचना बनाउन पाइँदैन ।
तर, यसको मान्यताविपरीत भारतीय पक्षले कन्चनपुरको पुनर्वासमा तारबार गर्ने पनि तयारी गरेको छ ।
भारतले ट्रेन्च बनाउनेबारे कैलाली र कन्चनपुर प्रशासनलाई जानकारी नगराएरै काम सुरु गरेको हो ।
करिब आधा किलोमिटर क्षेत्रमा ट्रेन्च खन्ने काम सुरु गरेको छ भने काँडे तारबारका लागि पोल गाड्ने काम पनि सुरु गरेको छ ।
गौरीफन्टा सीमानाकानजिकको पिल्लर नम्बर १७१ र १७२ को बीचमा भारतीय पक्षले यस्तो कार्य अगाडि बढाएको हो ।
अवैध तस्करी र आपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले दुई किलोमिटर क्षेत्रमा ट्रेन्च बनाएर तारबार गर्ने तयारी गरको भारतीय सीमा सुरक्षा बलका अभय यादवको भनाइ छ ।
कन्चनपुरको पुनर्वास क्षेत्रमा सीमाको सवालमा पटक–पटक विवाद हुँदै आइरहेको छ ।
सीमा विवादकै कारण २०७३ मा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर पुनर्वास–१०, आनन्दबजारका गोविन्द गौतमको ज्यान गएको थियो ।
अपराध नियन्त्रणको बहाना बनाएपनि यसको भित्री उद्देश्य सीमा मिच्नु नै रहेको डोकेबजारका स्थानीय टेकबहादुर बानियाँले दाबी गरे ।
भारतीय पक्षले एकतर्फीरुपमा ट्रेन्च निर्माण र तारबार गर्ने कार्य सुरु गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरी बलले उक्त कार्यमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्