Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बेलहिया नाकामा भारतीय पक्षबाट कडाई, वैकल्पिक मार्गमा नवलपरासी नाका प्रयोग


0
Shares

बेलहिया नाकाबाट आवात जावत गर्ने सवारी साधनमाथि भारतीय एसएसबी फोर्सले चेकजाँचमा एक्कासी कडाई गर्न थालेको छ । जसका कारण उक्त नाकामा सवारीसाधनको चाप बढेको छ ।

चाप बढेपछि बेलहिया नाकाहुँदै भारतबाट मालसामान लिएर नेपाल आएका सवारी साधनहरु नवलपरासीको महेशपुर नाकाहुँदै फर्किन थालेका हुन् ।

सदरमुकाम परासी हुँदै महेशपुरबाट भारतको ठूठीबारी प्रवेश गरेर भारत जान लागेका मालबाहक ट्रकको चापले परासी–महेशपुर सडक खण्ड व्यस्त बनेको छ ।

बेलहिया नाकामा घण्टौं कुर्नुपर्ने भएकाले महेशपुर नाकामा ट्रकहरुको चाप बढेको सशस्त्र प्रहरी बिओपी हरपुरले जनाएको छ । महेशपुर नाकामा सोमबारमात्र करिब ६ सयको हाराहारीमा भारत जान लागेका ट्रकहरुको लाईन रहेको सशस्त्र प्रहरी निरीक्षक रविन थापाले बताए ।

बेलहिया नाकाबाट मालसामान लिएर आएका भारतीय ट्रकहरुको कागजपत्र हेरेर छाडिएको महेशपुर छोटी भन्सार कार्यालयका नायब सुब्बा युवराज खड्काले जानकारी दिए ।

नेपालमा सामान लिएर आएका ट्रकले ७२ घण्टे सुविधा पाउने भएकोले सोही कागजको आधारमा नाकाबाट सवारी साधनहरु भारत जान दिइएको खड्काले बताए ।