चक्रीय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आए पनि अहिलेसम्म जिल्लास्थित कुनै सरोकारवाला निकायले त्यसतर्फ चासो दिएका छैनन् ।
फोहोर व्यवस्थापन हुन नसक्दा आधार शिविर क्षेत्र प्रदुषणको चपेटामा परेपछि मुदीको बगरमा रहेको राउण्ड धौलागिरी युवा क्लबले फोहोर हटाउनका लागि सरोकारवालाको ध्यानाकर्षण गराएपनि त्यसतर्फ कसैले चासो नदिएको जनाएको छ । बर्षौदेखि थुप्रिएको फोहोर हटाउन र व्यवस्थापन गर्न धौलागिरी गाउँपालिका कार्यालय र बेनीस्थित जिल्ला समन्वय समितिमा लिखित र मौखिक रुपमा आग्रह गरे पनि सुनुवाई नभएको क्लबका अध्यक्ष डिल पुनले बताए ।
उनले क्लबले निरन्तर ताकेता गर्दासमेत पर्यटकहरु लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीहरुका गाईडहरुले आधार शिविर क्षेत्रमा सही तवरले फोहोर व्यवस्थापनमा आनाकानी गर्दै आएको बताए । आधार शिविर क्षेत्रमा फोहोर नफाल्न र अव्यवस्थित तवरले नष्ट नगर्न आग्रह गरेपनि पर्यटक लिएर गएका पथप्रदर्शकहरुले अटेर गरि आधार शिविर क्षेत्रलाई प्रदुषित बनाईरहेको क्लबका अध्यक्ष पुनको भनाइ छ ।
यो बर्षमात्रै क्लबले तीन पटकसम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकहरुको फोहोर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथप्रदर्शकहरुलाई सचेत गराएको थियो । आधार शिविरमा बर्षौदेखि पर्यटकहरुले फोहोर जथाभावी फाल्ने प्रचलनले गर्दा आधार शिविर पुग्ने पर्यटकहरुले नै दुर्गन्ध र प्रदुषण बढेको गुनासो गर्न थालेपछि यो बर्षदेखि राउण्ड धौलागिरी युवा क्लब बगराले फोहोर व्यवस्थापनबारे चासो दिएको हो ।
क्लबले आधार शिविर क्षेत्रमै पटक पटक पुगेर त्यहाँ पथप्रदर्शकहरुले पर्यटकका फोहोर व्यवस्थापनमा गरेको लापरबाहीलाई स्थलगत अबलोकनसँगै सचेत गराउने गरे पनि उनीहरुले जथाभावि रुपमा फोहोर फाल्ने र आधार शिविरमै अव्यवस्थित रुपमा नष्ट गर्ने कार्यलाई नरोकेको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताए । ‘आधार शिविरमा पुगेका पर्यटकहरु नै हामी फोहोर हेर्न होइन, हिमाल हेर्न आएका हौँ भन्छन्, तर उनीहरुलाई लिएर जाने पथप्रदर्शकहरुको गैरजिम्मेवारपनको कारण बर्षेनि आधार शिविरमा फोहोर बढीरहेको छ ।’ पुर्जाले भने ।

अहिले आधार शिविरमा पर्यटक लैजाने पथप्रदर्शकहरु अधिकाँशले जल्ने र नजल्ने सबै फोहोरलाई आगो लगाएर यत्रतत्र बनाएर फर्कने गरेको क्लबले जनाएको छ । पर्यटन विकासको सम्भावनायुक्त क्षेत्र भए पनि राज्यको तर्फबाट उचित पहल नहुनु र यस क्षेत्रमा जाने पर्यटक टोलीको सम्बन्धमा सरकारी तवरबाट कुनैपनि निगरानी नहुँदा आधार शिविरमा फोहोर थुप्रने बढ्दो क्रममा रहेको क्लबका सदस्य खिम तिलिजाले बताए ।
थोरै मात्रामा ईटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहोर बिसर्जन गर्न थाले पनि पूर्णरुपमा आफ्नो फोहोर व्यवस्थापन नगरि पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् । धौलागिरी हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीको रुपमा रहेको बगराको सो क्लबले यो बर्ष धौलागिरीको आधार शिविरमै पुगेर फोहोरको अबस्थाबारे स्थलगत अध्ययन समेत गरेको छ ।
आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतको फोहोर थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याईएका टायर, धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आईएको बुद्धिविकास मावि मुदीका शिक्षक लोकराज रोकाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्