
सोलुखुम्बु । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध भएको छ ।
बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौं सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो ।
हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा राजधानी काठमाडौं, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिए ।
उनका अनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् ।
पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक ट्रक फसेको प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले जानकारी दिए ।
उनका अनुसार उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न सकिएको छैन ।
मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सडक यातायात सञ्चालन हुननसक्ने भएपछि यात्रु अलपत्र परेका छन् ।
बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् ।
आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ ।
वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौँ पुग्नुपर्ने स्थानीयवासी रामबहादुर तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्