Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘खाडी मुलुकमा नेपाली महिलालाई ‘सेटिङ’मा बिक्री’, परराष्ट्रलेसमेत तस्करलाई सघाएको आरोप


0
Shares

नेपाली मानवतस्करले संयुक्त अरब इमिरेट्सको अजमान र कुवेतको कुवेत सिटीमा नेपाली घरेलु कामदार आपूर्ति कार्यालय नै खोलेर नेपाली महिला कामदारलाई बिक्री गर्ने गरेको पाइएको उपसमितिले जनाएको छ ।

उपसमितिले मंगलबार समितिमा बुझाएको प्रतिवेदनमा घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्‍याइने गरेको र यस्तो धन्दामा विमानस्थलमा कार्यरत् अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारीकोसमेत संलग्नता रहेको उल्लेख छ ।

४० प्रतिशत महिला भारतका विभिन्न सहर, श्रीलंका, चीन र अरु अफ्रिकी मुलुक हुँदै खाडी पुर्‍याएर बेच्ने गरेको उपसमितिले जनाएको छ ।

उपसमितिले परराष्ट्र मन्त्रालयले मन्त्रालयमा प्राप्त सूचना लुकाइ मानवतस्करीलाई सघाएको गम्भीर आरोप पनि लगाएको छ ।

बेचविखनमा परेका महिला दिनहुँ दूतावासको शरणमा आउने तर तिनीहरुलाई बेच्ने एकजना दलालमाथि पनि कारबाही नहुनु विडम्बना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल र खाडी मुलुकबीच द्वीपक्षीय श्रम सम्झौताबिना निर्देशिका कार्यान्वयन गर्न नसकिने जानकारी खाडी मुलुकमा रहेका नेपाली नियोगहरुले परराष्ट्र मन्त्रालयमा पठाएपनि मन्त्रालयले उक्त निर्देशिका कार्यान्वयन गराउन विदेशीस्थित नेपाली नियोगहरुलाई दबाब दिइरहेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त निर्देशिकाको तेस्रो संशोधनको द्विपक्षीय श्रम सम्झौता नभएसम्म खाडी मुलुकमा कामदार पठाउन नपाउने व्यवस्थाबारे परराष्ट्र मन्त्रालयले नेपाली नियोगहरुलाई जानकारी नै नगराइ पुरानै निर्देशिका कार्यान्वयन गराउन परराष्ट्र मन्त्रालयले दबाब दिएको उपसमितिले ठहर गरेको छ ।

सांसद प्रभु साहको संयोजकत्वमा गठित ८ सदस्यीय उपसमितिले २०७३ चैत ५ देखि १४ गतेसम्म साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा रहेका नेपाली कामदारको अवस्थाबारे अध्ययन गरेको थियो ।